CT- scan and MRI centers in Kathmandu
6 November, 2020CT- scan and MRI centers in Kathmandu...
Read More
डा. मोहन भुसाल प्रा. डा. सबिना भट्टराई
सेतो दुबी छालालाई रङ दिने कोशीका मेलानोसाइट (Melanocyte) को बिनाशले गर्दा हुने सौन्दर्य समस्या हो जसमा दुध रङको धब्बाहरु आउने गर्दछ । यसले संसारको कुल १ प्रतिशत जनसंख्यालाई प्रभावित गर्दछ । जुनसुकै उमेर वर्ण, जाति, लिङ्गलाई असर गर्ने भएता पनि ७०–८० प्रतिशतमा यो तिस वर्ष अगाडी नै देखा पर्दछ । यो छाला मा मात्र नभएर मुख र यौनाङ को चिली हरु मा पनि हुन सक्दछ । कालो वर्ण हुनेहरुमा दुबी भएको छाला र सामान्य छाला बीच धेरै बिभेद हुने हुनाले यो वर्ण भएका मानिस यसलाई लिएर बढी चिन्तित हुने गर्दछन् र यो समुदायमा यसलाई ठुलो समस्याको रुपमा लिइन्छ । दुबीको कुनै लक्षण हुँदैन, यो आफैमा नराम्रो रोग होईन र यसको उपचार नगर्दा पनि हुन्छ तर यससँग सम्बधित सामजिक, मानसिक र मनोवैज्ञानिक पक्ष भने निकै गम्भिर छ । परिवर्तित बनोटले गर्दा सामजिक भेदभाब भएको पाइन्छ भने ब्यक्ति स्वयमको मनोबल कम्जोर हुने र सामजिक एकाग्रताको बाटो रोज्ने गरेको पाईन्छ । ७५%मानिसमा कुनै न कुनै मानसिक वा मनोवैज्ञानिक असर यसले गरेको हुन्छ । जसमा अधिकांश ६२% लाई डिप्रेसन हुन्छ र ८% ले आत्महत्याको बाटो समेत रोज्ने गर्दछन् जुन डर लाग्दो तथ्याङ्क हो ।
कारण
दुबी के कारणले हुन्छ भन्ने ठोस प्रमाण आजसम्म पनि छैन । विभिन्न सिद्धान्तहरु भने छन् जस्तो कि बंशाणुगत (३०%), अटोइम्युन, अक्सिडेटिब इस्ट्रेस, निउरल।कारण जे भए पनि अन्त्य मा मेलानोसाइट को बिनाश नै हुने हो । केहि वातावरणीय तत्वहरु जस्तै घाम, चोटपटक, घर्सण, मानसिक तनाब ले पनि यसलाई बढाउँदछ। केहि केमिकल जस्तै कपाल रङाउने केमिकलहरु, रबर्, किट्नासक्, छाला सेतो बनाउने कस्मेटिक क्रीमहरु ले पनि बढाउन सक्छ जसलाई केमिकल भिटिलिगो भनिन्छ । दुबी हुने मानिसहरुमा अरु अटोइम्युन् रोगहरु पनि हुने सम्भावना बढी हुन्छ । जस्तो कि थाइराइड (३८%), डाइबिटिज (६%) ।
प्रकार
सिमित ठाउँमा वा कुनै सेग्मेन्टमा (Localized/Segmental)
धेरै ठाउँमा धेरै वटा (Generalized)
लगभग शरिरको ८०% भाग ओगटेको (Universalis)
रोगको पूर्वानुमान (prognosis)
दुबीको पूर्वानुमान अत्यन्तै अप्रत्यासित छ । धेरै मानिसमा यो बिस्तारै बढ्दै जाने र एउटा समयमा गएर वर्षौं स्थिर हुने हुन्छ भने अरु मानिसमा यसको ठ्याक्कै पूर्वानुमान गर्न सकिदैन, तर कुनै कुराहरु भने अनुमान गर्न सकिन्छ । जस्तो कि यदि दुबी कम उमेरमा सुरु भएको छ भने धेरै फैलिने डर हुन्छ, सिमित ठाउँमा छ भने छिट्टै फैलिन रोकिन्छ, रौं नभएको भाग जस्तै औंलाको टुप्पो, ओठमा ढिलो रङ आउँछ भने कपाल भएको छालामा छिटो आउँछ ।
उपचार
दुबीको रोकथाम सम्भव छ तर जम्मा १०-२०% मा मात्र यो पूर्ण रुपले निको हुन्छ । उपचारको उदेश्य भनेको थोरै भन्दा थोरै औषधीको प्रयोगमा यसलाई रोकथाम गर्ने हो । यसको उपचार धेरै कुरामा भर पर्दछ: दुबीको प्रकार (localized, generalized, universalis); ठाउँ (कपाल भएको या नभएको); गतिशील वा स्थिर, बिरामी को अपेक्षा इत्यादि ।
उपचार बिधीमा लगाउने मल्हम, खाने औषधी, सेक्ने बिधि, रङ छोप्ने कस्मेटिक क्रिमहरु (cosmetic camouflage), सर्जरी, प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गर्ने महङ्गा औषधीहरु हुन्छन् । मनोबैज्ञानीक परामर्ष पनी एक महतोपूर्ण उपचार बिधी मानिन्छ । यदि दुबी गतिशिल छ भने यसलाई रोक्न इश्टेरोइड(steroid) भन्ने खाने औषधीको प्रयोग गर्नुपर्छ तर यदि स्थिर र सिमित (१०% शरिरको भाग) छ भने लगाउने मल्हम, घर मै सेक्ने मेशिन (UV lamp) बा सर्जरी उपयुक्त हुन्छ । तर यदि १०% भन्दा बढी छ भने सेक्ने थेरापी (phototherapy) को प्रयोग गर्नु पर्दछ । यो थेरापी हप्तामा २-३ पटक अस्पताल वा क्लिनिकमा आएर गर्नुपर्ने हुन्छ (५०-२०० पटक, ९-१२ महिना) । सामन्यता १५-२० सेसनमा रौंको वरपरबाट रङ आउन सुरु हुन्छ । यस्तो सुबिधा शहर बजारमा मात्र हुने हुनाले र लामो समय आइरहनु पर्ने हुनाले हाम्रो जस्तो देशमा सबै ठाउँमा सम्भब नहुन सक्छ । त्यस्तो ठाउँहरुमा औषधी खाएर घाममा सेकाउने विधी प्रयोग गर्न सकिन्छ जसलाई पुवा(PUVA) थेरापी भनिन्छ ।यदि दुबी ८०% भन्दा पनि बढी ठाउँमा छ भने सेतो भागलाई सामन्य बनाउने भन्दा पनि बचेको सामन्य भागलाई दीर्घकालीन रुपमै सेतो बनाउने मल्हमहरुको प्रयोग गर्न सकिन्छ ।
दुबीको सर्जरी अहिलेको निकै चर्चित उपचार विधी हो । यो सबै प्रकारको लागि उपयोगी हुँदैन तर उपयुक्त ब्यक्तिको छनोट गर्न सके यसको राम्रो नतिजा हुन्छ । जस्तो कि दुबी ६ देखी १२ महिनासम्म स्थिर हुनुपर्ने । १०% भन्दा कम ठाउँमा हुनुपर्ने, औषधी र सेक्ने प्रबिधिबाट राम्रो नभएको हुनुपर्ने, खत बस्ने प्रवृति हुन नहुने आदी हुन् । सर्जरीमा मुख्यतया सामान्य रङ भएको छालालाई दुबी भएको ठाउँमा लगेर प्रत्यारोपण गरिन्छ । यसमा ४-५ थरी प्रविधिहरु छन् । यो त्यति जाटिल सर्जरी होईन र यसको प्रभावकारीता ८० देखी ९०% छ र समान्य साइड इफेक्ट बाहेक यसमा कुनै रिस्क हुँदैन ।
भ्रम
१) दुध र माछासंगै खानाले
२) अमिलो खायो भने बढ्छ
३) दुबी भएकोहरुलाई छालाको क्यान्सर हुने सम्भावना हुन्छ
यी कुनै कुरामा सत्यता छैन बरु भिटामिन सि युक्त अमिलो कुराले झनै राम्रो गर्दछ । माछामा पाइने omega 3 भन्ने तत्वले झनै राम्रो गर्दछ । ऐंटीआक्सिडण्ट (antioxidant) र भिटामिन युक्त खाना जस्तै फलफुल्, हरियो तरकारी, नट्स खानाले केही मात्रामा कम गर्न वा बढ्न नदीन मद्दत गर्दछ भने मदिरा, प्रशोधित मासु, धेरै गुलियो कुरा, ग्लुटेनयुक्त खानेकुराले केहि मात्रामा बढाउने अनुमान छ । यद्यपी यो पूर्ण रुपले प्रमाणित भने भएको छैन । पछिल्लो अध्ययन अनुसार दुबी भएकाहरुमा छालाको क्यान्सरको जोखिम झनै कम देखिएको छ ।
दुबीको बिरामीले ध्यान दिनुपर्ने कुराः
१) घामबाट बच्ने (घामबाट बचाउने मेलनिन भन्ने कोसिकाको ह्रास हुनाले)
२) चोट पटक लाग्न नदिने (त्यस्तो ठाउँमा नयाँ धब्बा आउन सक्ने हुनाले)
३) रबरको जुत्ता वा चप्पलको प्रयोग नगर्ने (यसमा हुने केमिकलले गर्दा)
४) कसिलो इलास्टिक भएको कपडा नलगाउने
५) धेरै तनाब नलिने र यसलाई सहर्ष स्विकार्ने
जनचेतनाः
दुबी आफैमा रोग होइन । यो एउटा सौन्दर्य समस्या हो । यो एक आपसमा छोएर सर्ने पनि होइन न त यो कुनै पुर्ब जनिम को पाप ले गर्दा नै हुने हो । यो भएको मानिसको औषत आयु पनि समान्य मनिसको जस्त्तै हुन्छ । दुबी भएको मानिसलाई अनौठो दृष्टिले हेर्नाले उनीहरुको मनोबल नै कमजोर हुने गर्दछ र बिभिन्न मानसिक समस्या हुने गर्दछ । त्यसैले हमीले समाजमा यसबारे जानचेतना फैलाउन जरुरी छ र उनीहरुलाई मानसिक समस्या हुनबाट बचाउनु पर्दछ । माइकल ज्याक्सन, जोन ह्याम, वीनी हारलो जस्ता सिलेब्रिटहरुलाई पनी दुबी थियो र पनि उनीहरु संसार मै परिचित भए । तसर्थ यसलाई सामान्य रङको भिन्नता भनेर मात्र लिनुपर्दछ । यसलाई समाजले जति सामान्य लियो उति समाजमा उनीहरुलाई घुल्न सहज हुन्छ । त्यसैले आजकै दिनबाट दुबी भएको मानिसलाई अनौठो नजरले नहेरौं उनीहरुलाई त्यसले असहज हुन्छ भन्ने कुरा बुझौ । यस्तै जनचेतना जगाउन जुन २५ (माइकल ज्याक्सनको देहान्त भएको दिन)लाई नै अहिले "World Vitiligo Day" भनेर मनाइन्छ र जुन महिनालाई नै "Vitiligo Awareness Month" भन्ने गरिन्छ ।११ औ बिश्व दुबी दिवस संसार भरी आज बिभिन्न कार्यक्रम का साथ मनाइदै छ ।
(डा भुसाल छाला यौन तथा सौन्दर्य बिशेष्ज्ञ को रुप मा माल्दिव्स मा कार्यरत हुनुहुन्छ । हाम्रो डक्टर एप वा डाफे हेल्थ क्यर मार्फत वहाँ सँग परामर्श लिन सक्नु हुन्छ । प्रा. डा. भट्टराई सोसाइटि अफ डर्माटोलोजी भेनेरोलोग्री एन्ड लेप्रोलोजी अफ नेपाल (SODVELON) को निबर्तमान अध्यक्ष हुनुहुन्छ र छाला यौन तथा सौन्दर्य बिशेष्ज्ञ को रुप मा लभाना स्किन एन्ड हेयार क्लिनिक महाराजगन्ज मा कार्यरत हुनुहुन्छ । )
हाईलाईट्
दुबी रोग भन्दा पनि सौन्दर्य को समस्या हो । यो न त सर्छ न त यस्ले केहि दुख दिन्छ ।यो पूर्वजन्मको पाप पनि होईन ।यस को उपचार अवस्यक छैन तर यस को सामजिक, मानसिक र मनोवैज्ञानिक पक्ष भने निकै गम्भिर छ त्यसै ले उपचार बिशुद ब्यक्ती को रोजाई को कुरा हो ।उपचार सम्भब छ तर पुर्ण रुप ले निको पार्न चुनौती पूर्ण छ । समाज मा दुबी भएको मानिस लाई हेर्ने दृस्टिकोण मा परिवर्तन गर्नु, उनिहरु लाई अनौठो नजर ले नहेर्नु र यो केवल छाला को रङ को भिन्न्ता मात्र हो भनेर सहर्शा स्विकार्नु नै उनिहरु प्रती न्याय गर्नु हो ।
Leave a comment