दाँतहरु बुढेसकालका असल साथी हुन् !  

Article   Dr. Dabal Bahadur Dhami  on Wed, Aug 29 2018 11:55 AM 3191 Views 0 Comments 2 persons recommended

भनिन्छ दाँत बलियो भयो भने आँट बलियो हुन्छ। त्यसैले पनि त देशविदेशका शोधखोजकर्ताहरुले  भनेका छन् यदि दाँतलाइ समय समयमा  राम्रो हेरचाह गर्यो भने र अलिकति दाँतमा  खराबी  आउने बित्तिकै सहि उपचार गर्ने हो भने  यसको आयू १०० वर्ष भन्दा बढी हुन्छ ।

राम्रा दाँत भएमा बुढेसकालमा अरु शरीरका अंग कमजोर भएको बेला शरीरलाइ आबश्यक पर्ने खानेकुराहरु सजिलै  चपाएर खान सकिन्छ र शरीरलार्इ बलियो बनाएर धेरै बाँच्न  सकिन्छ।

जसरि हामी छोरा-छोरीको ख्याल राख्छौ पढाउछौ, लेखाउँछौ, उनीहरुको लागि दुःख कस्ट सहन्छौ   ताकी बुढेसकालको सहारा बनोस भनेर, तर धेरै छोराछोरीले तपाईलाइ बुढेसकालमा वृद्धाआश्रममा छोडिदिन्छ त्यसपछि तपाईको साथी सहारा केवल दाँत हुनेछन ।

विभिन्न शोधकर्ताहरुले पनि जसका दात स्वस्थ छन् चपाउन योग्य छन् तिनीहरुको बुढेसकाल सुखदायी र स्वस्थ हुन्छ भन्ने मान्यता राख्छन। त्यसमा सत्यता छ । त्यसैले हामी सबैले आफ्नो दाँतको बारेमा जानकारी राख्नु जरुरी छ । साथै दातलाइ  कसरि  स्वच्छ सफा र सफा राख्ने  भन्ने कुरा जान्नु पनि अति आवश्यक छ ।

यो आलेखमा दाँत के  हो ? कसरि दातमा समस्या आउछन ? दाँतलाइ सफा राख्न के गर्नुपर्छ ? कुन-कुन समयमा दाँतको ख्याल बढी गर्नु पर्छ ? कस्तो दाँत निकाल्ने ? दाँत बचाउने विभिन्न उपचार बिधि के हुन् आदि बारेमा जानकारी गराउने छु

हाम्रो शरीरका अन्य अंग जस्तै  दांँत पनि  एक अभिन्न अंग हो । यो अंगले हाम्रो शरीरलाइ आवश्यक पर्ने खानेकुरालाई चपाएर पाचन योग्य बनाउँछ । यति मात्रै होइन दाँतले चपाउनुका साथै बोल्नमा, सौन्दर्यता बढाउनमा  महत्वपूर्ण भूमिका निभाएको हुन्छ ।

दाँत बिशेष गरी दुर्इ प्रकारका हुन्छन्, बच्चामा हुने २० वटा दाँत अर्थात् दुधे दाँत त्यस्तै, युवामा ३२ वटा दाँत हुन्छन् जसलाई स्थायी दाँत भनिन्छ । दुधे दाँत ६ महिना देखि १३ वर्षसम्म रहन्छन् र क्रमिकरुपमा अस्थायी दाँत झरेर स्थायी दाँत आउँछन्।

दाँतको बनावट  हेर्ने  हो भने दाँतको सबैभन्दा बाहिरको भागलाई इनामेल भानिन्छ । यो सबैभन्दा बलियो पनि हुन्छ । यो भाग मोति जस्तै टल्किने र दाँतलाइ चम्किलोपन दिइराख्छ । त्यसपछिको भागलाई डेन्टिन भनिन्छ जसमा सानासाना झोल जस्तो पदार्थले भरिएका  टिउबुल हुन्छन् । दाँतको सबैभन्दा भित्रि भागलाई पल्प भनिन्छ जसमा हाम्रो शरीरको रक्तसञ्चार  प्रणाली र स्नायु प्रणालीसँग जोडिएको हुन्छ । त्यसैले दाँतको बाहिरी भागमा खराबी आएमा वा किरा (ब्याक्टेरिया) लागेमा दाँत दुख्दैन र हामीलाई थाहा हुदैन।

दि दाँतको त्यो भागमा किरा लागेमा छिटो उपचार गर्नुपर्छ । पल्प हाम्रो शरीर एक नरम भाग हो । उपचार पाइन भने यसमा सजिलै ब्याक्टेरियाले हानी पुर्याउछ । दाँत दुख्न थाल्छ, सुन्निन्छ, चपाउन गाह्रो हुने, पिप जम्ने र अरु ठाउँमा सर्ने आदि हुन्छ। त्यसैले समयमै दन्तरोग विशेषज्ञसँग सल्लाह लिएर उपचार गरिहाल्नु पर्छ ।

कसरी दाँत सफा राख्नेः

दाँतलाई सफा राख्ने सबैभन्दा सजिलो उपाय बिहान बेलुका खान खाइ सकेपछी नियमित फ्लोराइडयुक्त टूथपेस्टले माझ्नु पर्छ । केहि खानेकुरा खाइसकेपछी राम्ररी कुल्ला गर्नु पर्छ । यी दुई कुरा नगरेमा हामीले खाएको खाना  दाँतको  कुनाकुनामा गएर बस्छ र जम्न थाल्छ साथै ब्याक्टेरियाले त्यस्लाई कडा बनाउछ । जब हामीले खाना चपाउँछौ तब यो कडा भाग दाँत र गिजाको भागमा घुस्छ र क्रमिकरुपमा  गिजालाई दाँतबाट अलग पार्दै जान्छ। दाँत र गिजाको बीचमा ब्याक्टेरियाले भरिएको खानेकुरा जब पसी रहन्छ त्यसैबेला गिजा पाक्ने  गिजाबाट रगत आउने दाँत हल्लिने, दाँत सिरिगसिरिग हुने, सास गन्हाउने आदि  हुन्छ ।

यो क्रम बढ्दै गइ दाँत अडिएको हड्डीसम्म संक्रमण  हुन जान्छ र दाँत हल्लिन्छ र खाना चपाउन नमिल्ने भै झर्छ । साथै,  सक्रमण फैलिदै मस्तिष्क, फोक्शो मुटु र कलेजो हुँदै सर्छ र मान्छेमा  अनेक रोगहरु देखा पर्छन । अर्को कुरा के छ भने हाम्रो भित्रि शरीर  मुखद्वारा नै बाहिरी वातावरणसँग प्रत्यक्ष जोडिएको हुन्छ ।  कुनै पनि शरीरलाइ चाहिने तत्व मुखबाटै लिइरहेका हुन्छौ र बाहिरीका किटाणुहरु हाम्रो शरीरमा जान्छन र  संक्रमण फैलाउछन । त्यसैले त मुखको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ ।

सफा दाँत नै सभ्यताको प्रतिक मानिन्छ । त्यसैले समयसमयमा दात सफा गरी रहनुपर्छ । दश बाह्र वर्षको उमेरमा सबैभन्दा बढि गीजाको समस्या देखिने गरेको छ । यो समस्या किन देखिन्छ भने हाम्रो मुखमा अस्थायी र स्थायी दाँत बाङ्गाटिङ्गा भएर बसेका हुन्छन् जसलाई मिक्स डेन्टिसन पिरेड  भनिन्छ ।

यो अवस्थामा दाँतमा फोहोर र खाने कुरा सजिलै पस्छ । र, ब्याक्टेरियाले सजिलै गीजामा सक्रमण पुर्याउछ । त्यसकारण यो बेला हामीले दन्त चिकित्सक  कहाँ गएर सल्लाह लिई दाँत सफा गरेमा दाँत र गीजाको सम्बन्ध बलियो हुन्छ । साथैं, दाँत चिटीक्क देखिन्छ । अर्को कुरा स्थायी दाँत पूरै आइसकेपछि फेरी एक पटक दन्त चिकित्सक कहाँ गएर सफा गराएमा दाँत र गीजा त सफा हुन्छ नै स्वास्थ्यमासमेत यसले प्रभाव पार्छ ।

यस्तै, ३० पैतींस वर्षको उमेरमा फेरी एक पटक दाँतको अवस्था बुझ्नु पर्छ । यो समयमा दाँतको अवस्थाबारे सहि दन्त चिकित्सकको सल्लाह लिएमा तपाईको दाँत जीवनभरी बलियो नहुनेमा दुई मत छैन ।साथै,  दाँतमा कुनै खराबी देखिएमा निकाल्नुको साँटो  त्यसलाई जोगाउन सकेमा बुढेसकालको गतिलो सहारा बन्न सक्छ ।

हाम्रो समाजमा चेतनाको अभाबमा  दाँत दुख्यो कि निकालेर फाल्ने  चलन छ । यो कार्य एकदमै खराब बानी हो । के हामी औंलाको नङमा खराबी हुँदा हातै काटेर फाल्छौ त रु हो त्यस्तै हो दाँत पनि। त्यहि भएर ‘न रहेगा बास नाबजेगी बाँसुरी’  भन्ने  उखानलाई  अनुशरण गर्नुभयो भने बुढेस कालमा दुख्ख पाउनुको अर्को विकल्प छैन ।त्यसकारण अहिले नै दाँतको सहि उपचार र दाँत बिग्रीन दिनुभन्दा पहिले नै स्वस्थ राख्ने योजना बुन्नु पर्छ । अहिले बाँसुरी बचाएर बाँसुरीको धुनमा मिठो गित गाएर लट्ठ पर्न तिर लाग्ने समय हो ।

दाँत बचाउने विभिन्न बिधि छन्, जस्तैः दाँतको जरादेखि उपचार गरि कहिले नदुख्ने बनाउने, कमजोर दाँत छ भने दाँतको खोल हाल्ने, गीजा कमजोर छ भने सर्जरी गरेर बलियो पर्ने, बांगाटिंगा दाँतलाई मिलाएर फोहोर जम्न नदिने, समयसमयमा दाँतको जाँच गरी राख्ने, दिनहुँ राम्रोसँग ब्रस गर्ने गर्नुपर्छ ।

यतिमात्रै होइन जता पायो त्यतै च्याउँ झैँ  उम्रेका योग्यता बिनाका  डेन्टल उपचार केन्द्रमा उपचार  गराउनुहुन्न । दाँतको उपचार गर्नुपूर्व साँच्चीकै दन्त चिकित्सक हुन् या होइनन् भन्नेबारे बुझ्ने । अहिले दाँतसम्बन्धी ज्ञान नै नभएका व्यक्ति पनि दन्तचिकित्सक भनेर दाबी गर्ने गरेका छन् । त्यसकारण यो विषयमा गम्भीर बन्नुपर्छ । ठूलाठूला ब्यानरका  देखेर दाँतको उपचार होइन दन्त चिकित्सक होकि होइन यसबारे सचेत हुनुपर्छ ।

Leave a comment